दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन आज तीनकुने केन्द्रित हुने

काठमाण्डाै – मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले बताउनु भएको छ। 

उहाँका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।

उहाँको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए।

यसै विच, हिजो गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने  छ जनाको काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरेको थियो ।