ललितपुर- ललितपुरमा चलिरहेको ऐतिहासिक कात्तिक नाचमा आज मुख्य आर्कषण नृसिहं अवतारको नाच प्रर्दशन गरिदैछ । आज बेलुकी ७ बजेपछि मंगलबजारको कात्तिक दबलिमा नृसिहं अवतारको नाच प्रदर्शन गरिनेछ। आजको नाचमा नारायणको अवतार नृसिहंले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिनेछ ।
नाचमा नृसिहं भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछ भनेर हिरयण्कशिपु भएर चित्रकार समुदायको कलाकार खेल्ने चलन छ। यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नु पर्दछ ।
नाचमा हिरण्यकशिपु भएर खेल्ने कलाकारलाई नृसिहंले काखमा राखेर नङ्गले कोपरेर बेहोस गरेपछि तलेजुका पुजारीले जल अभिशेक गरेर ब्यूताउने परम्परा छ ।
तान्त्रिक नाच भएकोले आजका दिन मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको विशेष भीड हुने गर्दछ ।
हिजो बराह अवतारको नाच देखाइएको थियो। गएको मंसिर २ गतेदेखि शुरु भएको कात्तिक नाच पर्सि सकिदैछ।
नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा संचालन भएको यो नाच नेपाल सम्वत ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच संचालन भएको ३८३ वर्ष लागेको छ ।
