ललितपुर – ललितपुरको हरिसिद्धिमा परापूर्वकालदेखि निरन्तर संचालनमा रहेका बाद्यवादक र भजनकृतनको संरक्षणको लागि अक्षयकोष स्थापनार्थ पुनः चेक हस्तान्तरण गरिएको छ। ललितपुर महानगरपालिकाको वडा नं २९ को हरिसिद्धिद्धारा शनिबार आयोजित कार्यक्रममा अक्षयकोष स्थापनार्थ पुनः चेक हस्तान्तरण गरिएको हो।
वडा नम्बर २९ का वडा अध्यक्ष गणेशकुमार महर्जनको सभाअध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाका जिन्सी व्यवस्थापन केन्द्रका प्रमुख सागर थापाले आर्थिक पारदर्शितामा जोड दिदै महानगरपालिकाबाट यस्तै नै अन्य सहयोग पनि उपलब्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
कार्यक्रममा आफ्नो पहिलो कार्यकालमा बाचा गरेअनुसार अक्षयकोषका लागि रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशि लागेको वडा अध्यक्ष महर्जनले बताउनु भयो।
कार्यक्रममा हरिसिद्धिका वरिष्ठ संगीतकार तथा बाद्यगुरू निरञ्जन महर्जन, हरिसिद्धि सांस्कृतिक बाजा संरक्षण समितिका अध्यक्ष सत्य महर्जन, वडाका पदाधिकारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा हरिसिद्धिमा निरन्तर रूपमा संचालनमा रहेका १८ वटा बाद्यबादक तथा भजनकृतनलाई सम्मान गरेर १ लाख रूपैया बराबरको चेक हस्तान्तरण गरिएको थियो ।
३ वर्षअघि पनि बाद्यबादक तथा भजनकृतनको संरक्षणका लागि अक्षयकोष स्थापना गरेर रकम हस्तान्तरण गरिएको थियो।











