पत्रकार सिल्भिया राजोपाध्याय् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाण्डाै –  पत्रकार सिल्भिया राजोपाध्याय् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।  नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार काठमाण्डौं विजयश्वरीमा रहेको नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले  उहाँलाई पुरस्कृत गर्नु भएको हो । न्यूजनेपाःका सम्पादक उहाँ उज्यालो रेडियो नेटवर्क तथा नेपालमण्डल टेलिभिजनमा पनि आबद्ध हुनुहुन्छ। उहाँको २८ वर्ष लामो रेडियो पत्रकारीता यात्राको कदर गर्दै दबुले पुरस्कृत गरेको हो। 

कार्यक्रममा भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धर, ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठ, ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार माउण्टेन टेलिभिजनका नेपालभाषा समाचार डेस्कका प्रमुख विश्वन्तर शाक्य, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार बुद्धशरण शाही र श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको हो।

त्यस्तै कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आदिवासी जनजाति पत्रकार महासंघया निवर्तमान अध्यक्ष डण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पुरस्कार समितिका संयोजक सुनील महर्जन, दबूको काठमाण्डौं शाखाका अध्यक्ष अर्विनमान सिहं, काठमाण्डौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर,  आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, पुरस्कृत पत्रकारका तर्फबाट सिल्भिया राजोपाध्याय्, सम्मानित पत्रकारका तर्फबाट  डण्ड गुरुङ लगायतले बोल्नु भएको थियो।

कार्यक्रम दबुका महासचिव केके मानन्धरले संचालन गर्नु भएको थियो।