काठमाडौँ: साताको कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक ३३ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार ८३३ दशमलव शून्य तीन अङ्कमा खुम्चिएको हो। यो अघिल्लो दिनको तुलनामा एक दशमलव १८ प्रतिशतको गिरावट हो।
बजारमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज ३४२ कम्पनीका दुई करोड सात लाख ४३ हजार ८८४ कित्ता शेयर एक लाख ११ हजार ६०७ पटक खरिद–बिक्री हुँदा कूल रु नौ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको बजारमा सबै समूहका उपसूचकहरू ओरालो लागेका छन्। सबैभन्दा बढी गिरावट वित्त (१.९८%), अन्य (१.९०%) र उत्पादन तथा प्रशोधन (१.५४%) समूहमा देखिएको छ। यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत् र निर्जीवन बीमा लगायतका सबै क्षेत्रमा गिरावट दर्ता भएको छ।
यस्तो गिरावटको बीचमा पनि रिजलाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, सिन्धु विकास बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी ९ दशमलव ४७ प्रतिशत गुमाएका छन्।
