उदाय् म्यूजियमले गथांमुगः पर्बको बारे कार्यशाला गोष्ठी सम्पन्न

असनको उदाय् छेँ अवस्थित उदाय् म्यूजियम र ‘बाखं न्यनेवा’ समूहको संयुक्त आयोजनामा असनको उदाय् म्यूजियमको प्रांगनमा गथांमुगः चतुर्दशीको विषयमा प्रवचन दिने कार्य गतः ११४५ दिल्लागाः नवमी, शनिबार (२०८२ श्रावण ३ गते) सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सह प्राध्यापक प्रेमहिरा तुलाधरले गथांमुगः बारे प्रवचन दिनु भएको हो । वहाँले आफ्नो प्रवचनको क्रममा हामीले गथांमुगः किन मानिरहेका छौं र यसको ऐतिहासिक पक्षका कुराहरु पनि बताउनु भएको छ । वहाँले गथांमुगः पर्व भनेको के हो ? यस पर्वको महत्व के छ र यसको रोपाईसँग के सम्बन्ध छ ? यस पर्व मनाउने क्रममा काठमाण्डौंमा के के गतिबिधि हुन्छ ? भन्ने कुरालाई लिएर प्रकाश पार्नुभई आफ्नो भनाई राख्नुभएको हो ।

यसरी नै गथांमुगः मनाउने क्रममा बौ (बलि) कसरी राख्ने भन्ने बिषयमा पनि तुलाधरले बताउनु भयो भने रत्नकमल कसाःले बौ राख्ने कार्य गर्नुभयो । ‘बाखं न्यनेवा’ समूहका एलिना कुमारी ताम्राकारले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अमिता कसाःले गथांमुगः पर्वका बेला पोखरामा गाइने एक गीत पनि गाएर सुनाउनु भएको थियो ।

संस्कृतिप्रेमीहरुको सहभागितामा सञ्चालन भएको यस कार्यक्रममा उदाय् समाजका उपाध्यक्ष एवं उदाय् म्यूजियमका ब्यवस्थापक डा. सुमनकमल तुलाधरले कार्यक्रमका विविध पक्षलाई समेत समेट्नु भई आफ्ना भनाई राख्नु भएको थियो ।

उक्त कार्यक्रममा बाखंपाः (प्रसादी) पनि वितरण गरिएको थियो भने गथांमुगःका दिन दोबाटोमा राखिने तिंकथि (नर्कट)को गथांमुगः बनाएर प्रदर्शन गरिएको थियो ।