झन्डै १४ सय वर्ष पुरानो न्यकू (श्रृंगभेरी) जात्रा मतयाः (दीपयात्रा) ललितपुरमा आज सोमबार मनाइँदै छ। हरेक वर्ष भदौ कृष्ण द्वितीया अर्थात् गाईजात्राको भोलिपल्ट हुने गर्दछ। यो जात्रामा हजारौं बौद्ध एवं हिन्दु धर्मावलम्बीहरुले ललितपुरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्य, देवालयको परिक्रमा गर्छन्।
यसरी परिक्रमा गर्दा झन्डै २ हजारको देवीदेवतालाई परिक्रमा गर्छन्। यसक्रममा धूप, दियो, कपूर, पैसा, मिठाईलगायत सामग्री चढाउन नगरपरिक्रमा गर्ने गरिन्छ। न्यकू जात्रा–मतयाःमा कतिपय मानिसहरू दिवंगत आत्माको नाममा महादीप बालेर पनि आउने गर्दछन्। यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक विश्वास छ।
विशेष गरी बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन्। यस जात्रालाई श्रृंगभेरी, दीप यात्रा पनि भनिन्छ। नेपालभाषामा मतको अर्थ दीप अर्थात् बत्ती हो। त्यसैले मतयाःलाई दीपयात्रा पनि भनिन्छ।
हरेक टोलमा पुग्ने र त्यहाँ रहेका बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ। आज बिहान ४ः४० बजेबाट शुरू भई साँझैसम्म चल्दछ। यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा छ।
ललितपुरका १० स्थानबाट पालैपालो सञ्चालन हुने गर्दछ । नकबहीः, मंगः, चक्रबहीः, इखाछे, नागबहाः बुबहाः, हौगः, वकुबहाः, इखालखु, कोबहाः र सौगः गरी ललितपुरका १० टोलले पाःचक्र (पालो) मिलाएर हरेक वर्ष जात्रा व्यवस्थापन र बाजा प्रशिक्षण दिने गर्दछन्। ललितपुरका राजा सिद्धिनरसिंह मल्लले यो पालो चक्र मिलाइदिएका हुन् भन्ने कथन छ। यी दश टोलले सयौं वर्षदेखि यो प्रशिक्षण कार्यलाई निरन्तरता दिइरहेका छन्।
ललितपुरको मौलिक जात्राका रूपमा लिइने यो जात्रा कहिलेदेखि शुरू भयो भन्ने यकिन छैन । करिब १४ सय वर्षअघि, बालार्चन देव राजाको पालादेखि जात्रा मनाइँदै आइरहेको मान्यता छ। कसैकसैले राजा गुणकामदेवको पाला अर्थात् ११औं शताब्दीमा नै यो जात्रा मनाउने गरिन्थ्यो भनेर पनि लेखेका छन्।
वाद्यवादन यस परम्पराको अर्को विशेषता हो । बाजा एवं वादन शैलीको अनुपम नमुना नवबाजा धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं बाजा बजाउने गरिन्छ। यी बाजाहरूमध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने न्यकू अर्थात् सिङ बाजा फुकेर बजाउनेकै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात् श्रृंगभेरी जात्रा भन्ने गरिएको हो।
