धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु

विराटनगर- सुनसरीको धरानमा स्कूल बसले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिका १९ मिलन चौकमा को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कूलको बसले को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा २४ वर्षीय अटो चालक निमेष भुजेलको मृत्यु भएको हो ।

सुनसरी प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक चन्द्र खड्काका अनुसार बुधबार विहान विद्यार्थीलाई लिएर विद्यालय जाँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको अटोलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका धरान १९ का भुजेललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको थियो ।

सोही क्रममा बिहान करिब १० बजे भुजेलको मृत्यु भएको सुनसरी प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । त्यसैगरी, अटोमा सवार ४८ वर्षीय टिकराम लिम्बु घाइते भएका छन् ।

प्रहरीका अनुसार लिम्बूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनासँगै प्रहरीले विद्यालय बसका चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धरानमा नियन्त्रणमा राखिएका तामाङलाई लिएर आवश्यक अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।