स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको समकालीनका रुपमा परिचित प्रख्यात भजन गायक तथा संगीतकार रत्नमान श्रेष्ठ ९१ वर्षको उमेरमा दिवंगत हुनुभयो ।
श्रेष्ठ थिंलागाः चतुर्दशी, विहीबार (पुष ३ गते) दिवंगत भएको जानकारी वहाँका छोरा राजेश्वर मान श्रेष्ठले दिनुभएको छ । ने.सं. १०५४ बछलागाः अष्टमी, मंगलबार (वि.सं. १९९१ जेठ २३ गते) काठमाण्डौंमा जन्मनुभएका भजन गायक तथा संगीतकार रत्नमान श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाको छोरा हुनुहुन्छ ।
श्रेष्ठ नेपाली आधुनिक, भजन र नेपालभाषाका गीत तथा संगीत क्षेत्रमा स्थापित र सम्मानित ब्यक्तित्वको रुपमा चिनिन्छ । वहाँ स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको परिवारिक मित्र समेत हुनुहुन्छ ।
वि.सं. २०१७ सालदेखि औपचारिक रुपमा भजन र संगीत सिर्जनाको यात्रा आरम्भ गर्नुभएका श्रेष्ठको रेडियो नेपालमा मात्र करीब ३५० वटा जति भजन रेकर्ड भएको छ ।यसका साथै श्रेष्ठले केही राष्ट्रिय गीत र लोक गीतमा पनि संगीत तथा स्वर दिनुभएको छ ।
