सडक आश्रित व्यवस्थापनमा काठमाडौं महानगरको पहल, सयौँ पुनर्मिलन सफल

काठमाडौं महानगरपालिका ले करिब आठ वर्षमा २,९१९ जना सडक आश्रितको उद्धार गरेको छ। मानव सेवा आश्रम सँग २०७४ मङ्सिरदेखि सहकार्य गर्दै सुरु गरिएको अभियानअन्तर्गत ३१५ जनाको मृत्यु, ७१३ जनाको पारिवारिक पुनर्मिलन र ३३६ जनाको सामुदायिक पुनर्मिलन भएको छ भने हाल २६८ जना आश्रमको संरक्षणमा छन्।

महानगरले सडक आश्रितमुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिरहेको बताउँदै दिगोपनाका लागि कानुनी, प्रशासनिक र व्यावहारिक पक्ष बलियो बनाउने जनाएको छ। उद्धार कार्य निरन्तर जारी छ र महानगरले आश्रमलाई रु २ करोड ८४ लाखभन्दा बढी सहयोग प्रदान गरिसकेको छ।

सडक आश्रितको दीर्घकालीन व्यवस्थापनका लागि पुनःस्थापना, अभिलेखन प्रणाली, स्वास्थ्य तथा मानसिक परामर्श र स्थायी आर्थिक योजनाको आवश्यकता औंल्याइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य तथा अधिकारमा सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिको पुनःस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन गर्ने व्यवस्था उल्लेख छ।