‘याक: सल’ को रौनक: पाटनका गल्लीहरूमा घोडेजात्राको सांस्कृतिक उत्सव

धेरैले घोडोजात्रा भन्ने बित्तिकै टुँडिखेलमा उफ्रिएका घोडा र नेपाली सेनाले देखाएको कलालाई सम्झिन्छन्। तर, ललितपुरको पाटन क्षेत्रमा भने बुधबार घोडे जात्राको छुट्टै रौनक थियो। सर्वसाधारणको उपस्थितिमा दौरा-सुरूवाल, ढाका टोपी र ढाकाकै इस्टकोट लगाएका, अनुहारमा अबिर घसेका मान्छे दरबार परिसरमा आइपुग्छन्।

मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो। मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो। पाटन मङ्गल बजारको मूल चोकबाट यो जात्रा सुरु भएको जात्रा पाटनका भित्री गल्लीको परिक्रमा गरेर बालकुमारी मन्दिर पुगेर टुङ्गिएको हो।

जात्रामा दौडाइएको घोडा बालकुमारी मन्दिरदेखि भोल गणेशसम्म तीन पटक ओहोरदोहोर गरेपछि जात्रा सम्पन्न हुने गरेको छ। यो जात्रालाई नेवारी भाषामा ‘याक: सल’ भनिन्छ। यो जात्राको आयोजना ‘भीमसेन गुठी च्योः खल:’ ले गरेको हुन्छ ।

यसरी राजा, मन्त्री र सेनापतिको प्रतिनिधित्व गर्दै घोडालाई पछ्याउँदै हिँड्नुको पछाडि कारण छ। मल्लकालमा यो जात्रा मनाउँदा यसैगरी राजा र मन्त्रीहरू घोडाको पछि पछि हिँड्ने गर्थे। त्यही दृश्य हुबहु जीवन्त पार्न यो रित चलेको भनाइ छ।

पाटनमा मनाइने घोडेजात्राको अर्को पनि विशेषता छ। यो काठमाडौंको भन्दा पुरानो भएको स्थानीय दाबी गर्छन्।

काठमाडौंमा घोडेजात्रा सुरू भएको राणाकालतिर हो। जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि उतैको सिको गर्दै टुँडिखेलमा घोडा दौडाउन सुरू गरेका थिए।

पाटनको घोडेजात्रा भने मल्लकालबाटै सुरू भएको कुरा जात्रा मनाउने विधिले पनि छर्लंग पार्छ। तर यो जात्रा कति पुरानो हो भन्ने यकिन छैन। कतिपयले सिद्धिनरसिंह मल्लको पालामा सुरू भएको हुनसक्ने अनुमान गरेका छन्।