काठमाडौँ महानगरपालिका वडा नं. २३ को सहयोगमा नेवाः नुगःद्वारा प्रकाशित पुस्तक “का. म. पा. वडा नं. २३ का विशिष्ट व्यक्तित्व र कृतित्व” को विमोचन कार्यक्रम सम्पन्न भएको छ।
गत शुक्रबार काठमाडौंको न्युरोडस्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन गरिएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा गोबिन्दनारायण ज्यापू, सुवर्ण शाक्य, हिरण्यलाल श्रेष्ठ, अष्टलक्ष्मी शाक्य तथा पवित्र बज्राचार्य सहभागी हुनुहुन्थ्यो।
यलु जोशीद्वारा लिखित उक्त पुस्तकमा वडा नं. २३ का विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवन, संघर्ष, योगदान र कृतित्व समेटिएको छ। विशेष रूपमा गोबिन्दनारायण ज्यापू, सुवर्ण शाक्य, हिरण्यलाल श्रेष्ठ र अष्टलक्ष्मी शाक्य का जीवनीहरू पुस्तकमा समावेश गरिएको छ।
पुस्तकले स्थानीय स्तरका विशिष्ट व्यक्तित्वहरूको इतिहासलाई दस्तावेजीकरण गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले यस्ता कृतिहरूले समाजका योगदानशील व्यक्तिहरूलाई चिनाउने मात्र नभई उनीहरूको संघर्ष र समर्पणबाट सिक्न प्रेरित गर्ने बताएका थिए।
