काठमाडौं— नेपालस्थित चिनियाँ दूतावासले युवा सशक्तिकरणलाई प्राथमिकता दिँदै ‘चाइनिज एम्बेसी युथ पाइनियर प्रोग्राम’ (CNYP) घोषणा गरेको छ। यस कार्यक्रमले नेपाली युवामा नेतृत्व क्षमताको विकास, सामाजिक सहभागिता, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक दक्षता अभिवृद्धि गरी देशको आर्थिक–सामाजिक रूपान्तरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ।
यो कार्यक्रम विशेष गरी २२ देखि ३४ वर्ष उमेर समूहका युवा पेशेवर, सामाजिक अभियन्ता, व्यवसायी, राजनीतिशास्त्र, समाजशास्त्र र संस्कृति क्षेत्रका व्यक्तिहरूका लागि लक्षित छ। एक वर्षसम्म सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले नेतृत्व सीप, रणनीतिक सोच र सामाजिक समस्याको गहिरो विश्लेषण गर्ने अवसर पाउनेछन्। कार्यक्रममा नियमित कार्यशाला, सेमिनार, प्यानल छलफल र नेटवर्किङका कार्यक्रमहरू समावेश गरिनेछन्, जहाँ सहभागीहरूले चिनियाँ अधिकारी, विद्वान र उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।
CNYP कार्यक्रमको अर्को मुख्य आकर्षण चीन भ्रमण हो। छनोटमा परेका युवाहरूले चीनको विकास मोडेल, प्रविधि र सामाजिक अभ्यासलाई नजिकबाट नियाल्ने मौका पाउनेछन्। दूतावासले समावेशी प्रतिनिधित्वलाई जोड दिँदै १० देखि २० जना उत्कृष्ट आवेदक छनोट गर्ने जनाएको छ। कार्यक्रम पूरा गरेपछि सहभागीहरूले विशेष एलुम्नाइ नेटवर्कमा आबद्ध हुन पाउनेछन्। इच्छुक उम्मेदवारले आगामी मे १७, २०२६ भित्र अंग्रेजी भाषामा आवेदन दिइसक्नुपर्नेछ। यस पहलले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध र पारस्परिक समझदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
