काठमाडौँ – नेपाली पत्रकारिता र नेपालभाषाको उत्थानमा जीवन समर्पण गर्ने वरिष्ठ पत्रकार एवं भाषा आयोगका सदस्य स्व. सुरेश किरण मानन्धरको योगदान अब इतिहासको पानामा सुरक्षित भएको छ।
नेवाः पत्रकार राष्ट्रिय दबूले प्रज्ञा भवनमा आयोजना गरेको विशेष कार्यक्रममा ‘सुरेश किरण स्मृति ग्रन्थ’ सार्वजनिक गर्दै उहाँको सक्रियता र बौद्धिक योगदानको स्मरण गरिएको छ।
कार्यक्रममा भिक्षु कोण्डन्य महास्थवीर लगायतका व्यक्तित्वहरूले ग्रन्थ सार्वजनिक गर्नुभयो। वक्ताहरूले स्व. मानन्धर केवल एक पत्रकार मात्र नभई नेपाली समाजको भाषिक र सांस्कृतिक चेतनाका संवाहक रहेको बताउनुभयो।
नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा चलेको उक्त कार्यक्रममा स्व. मानन्धरको योगदानको चर्चा गर्दै साहित्यकारहरूले उहाँको व्यक्तित्वलाई कवितामार्फत उजागर गरेका थिए।
सुरजवीर बज्राचार्य प्रधान सम्पादक रहेको यो कृति पत्रकारिता र भाषिक क्षेत्रका लागि एक ऐतिहासिक दस्ताबेज बनेको छ। सुरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित सम्पादक मण्डलका सदस्यहरू सुनिल महर्जन, केके मानन्धर, राजु नापित र उत्तम कुमार श्रेष्ठको मेहनतले यो ग्रन्थ साकार भएको हो।
बाबुकाजी श्रेष्ठ र सुनिता महर्जनले ग्रन्थको व्यवस्थापकीय पाटोमा कुशल संयोजन गरेका थिए। स्व. मानन्धरको नाममा प्रकाशित यो ग्रन्थले भावी पुस्ताका पत्रकारहरूलाई समेत निरन्तर प्रेरणा दिने विश्वास गरिएको छ।
