सुर्खेतको विद्युत् समस्या समाधानका लागि १० करोड विनियोजन, एक साताभित्र ३ हजार मिटर पठाइने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कर्णाली प्रदेश, विशेषगरी सुर्खेतमा देखिएको लो-भोल्टेज तथा विद्युत् आपूर्ति समस्याको समाधानका लागि आवश्यक बजेट तथा उपकरण व्यवस्थापन गर्ने निर्णय गरेका छन्।

सुर्खेत भ्रमणका क्रममा मन्त्री श्रेष्ठले सुर्खेतको प्रसारण लाइन स्तरउन्नतिका लागि आवश्यक १० करोड रुपैयाँ तत्काल विनियोजन गर्ने निर्णय गरेका हुन्।

यस्तै, कर्णाली प्रदेशमा आवश्यक ५ हजार विद्युत् मिटरमध्ये २ हजार मिटर आइसकेको जानकारी दिँदै बाँकी ३ हजार मिटर एक साताभित्र पठाउने व्यवस्था मिलाइने मन्त्री श्रेष्ठले बताएका छन्।

यी निर्णयले कर्णालीका नागरिकले लामो समयदेखि भोग्दै आएको लो-भोल्टेज तथा विद्युत् आपूर्ति समस्याको समाधानमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय जनप्रतिनिधिहरूले मन्त्री श्रेष्ठको पहलले प्रदेशको विद्युत् पूर्वाधार सुधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।