माटोमुनिबाट आयो रोएको आवाज, रसुवामा ६ वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । बाढी–पहिरोले प्रभावित रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। खोजीका क्रममा बालिका माटोमुनि पुरिएको अवस्थामा फेला परेपछि सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका हुन्।

शुक्रबार साँझ करिब ६ः१५ बजे भएको उक्त उद्धारमा सीमा सुरक्षा चौकी टिमुरेबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा परिचालित ६ सदस्यीय टोली संलग्न थियो। उद्धारपछि बालिकालाई उपचार तथा थप सुरक्षाका लागि टिमुरे बीओपीमा ल्याइएको थियो।

सशस्त्र प्रहरीका अनुसार बालिका उद्धारका क्रममा गम्भीर तथा अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल न्यानो बनाएर राखिएको र अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लैजाने पहल गरिएको थियो। यद्यपि रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको जनाइएको छ।

माटोमुनिबाट आएको बालिकाको रोएको आवाज उद्धार टोलीका लागि महत्वपूर्ण संकेत बनेको थियो। आवाज सुनेलगत्तै खोजी थालिएकाले पहिरोले पुरिएको अवस्थामा समेत उनलाई जीवितै फेला पार्न सम्भव भएको हो।

भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीले जोखिमका बीच खोज तथा उद्धार कार्य जारी राखेका छन्। विपद्पछि प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले उद्धार टोलीले उच्च सतर्कताका साथ खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको छ।