नेपाल प्रहरीले बिहीबार राति एक विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं पक्राउ नपरेको बताएको छ। बिहीबार विभिन्न सञ्चार माध्यमहरूमा ‘दुर्गा प्रसाईं पक्राउ’ भन्ने शीर्षकमा समाचारहरू प्रकाशन भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश कुमार आचार्यले प्रसाईं हालसम्म पक्राउ नपरेको जानकारी दिएका हुन्।
यस अघि हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् भनेर भ्रामक समाचार प्रकाशन, प्रसारण गरेकोले यसो नगरिदिनु हुन सबैमा नेपाल प्रहरीले आग्रह गरेका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाईं फरार छन्। सो आन्दोलनका कमान्डर उनलाई प्रहरीले खोजी गरिरहेको छ।
सुरूमा उनी आन्दोलनबाट भागेर इमाडोल पुगेका थिए। आफूलाई धर्मगुरू भनेर चिनाउने पुस्कर खतिवडाको घरमा पुगेर प्रसाईंले खाजा खाएका थिए। त्यहाँबाट उनी गाडी लिएर झापा पुगेकोसम्म प्रहरीले पत्ता लगाएको थियो।
प्रसाईं झापासम्म गएको गाडी र सो गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रसाईंलाई भने हालसम्म पक्रिन सकेको छैन।
