२८ वर्षपछि अन्तिम १६ मा नर्वे

र्लिङ हालान्डले खेलको ८६औं मिनेटमा निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। यस जितसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्णायक गोलको क्रममा प्याट्रिक बर्ग बल लिएर पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दा आइभरी कोस्टका तीन रक्षक उनलाई रोक्न अघि बढेका थिए। त्यसैको फाइदा उठाउँदै बर्गले खाली अवस्थामा रहेका हालान्डलाई पास दिए, जसलाई उनले सहजै गोलमा परिणत गरे। जारी विश्वकपमा हालान्डको यो तीन खेलमा पाँचौं गोल हो।

नर्वेका लागि पहिलो गोल एन्टोनियो नुसाले आकर्षक कर्लिङ प्रहारमार्फत गरेका थिए। विश्वकपमा चौथो पटक सहभागी भएको नर्वेले अब अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीबीचको खेल आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ।

यो भेट २८ वर्षअघिको ऐतिहासिक खेलको सम्झना पनि हुनेछ। सन् १९९८ को विश्वकपमा नर्वेले समूह चरणको अन्तिम खेलमा तत्कालीन विश्वविजेता ब्राजिललाई ८३औं र ८९औं मिनेटमा गोल गर्दै २–१ को अविश्वसनीय पुनरागमन जित निकालेको थियो। त्यसयता पहिलो पटक विश्वकप खेलेको नर्वे फेरि एकपटक ब्राजिलसँग नकआउट चरणमा भिड्न तयार छ।

दोस्रो हाफमा आइभरी कोस्टले पनि उत्कृष्ट संघर्ष गरेको थियो। यसअघि नर्वेलाई दुई गोलको अग्रता लिनबाट रोकेका आर्नार्ड डियाल्लोले ७४औं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट बायाँ खुट्टाले प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। तर‚ खेलको अन्त्यतिर हालान्डको निर्णायक गोलले नर्वेलाई ऐतिहासिक जित दिलायो।