फ्रान्सलाई सहज जित

किलियन एमबाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यो जितसँगै फ्रान्सले अब क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा एमबाप्पेले पहिलो हाफको इन्जुरी समयअघि उत्कृष्ट प्रदर्शन गर्दै गोलको खाता खोले। दोस्रो हाफमा ब्राड्ली बार्कोलाले ५३औं मिनेटमा अग्रता दोब्बर बनाए भने ७४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे।

जारी विश्वकपमा चार खेलमा एमबाप्पेको यो तेस्रो दुई–गोलको प्रदर्शन हो। प्रतियोगितामा उनको कुल गोल संख्या ६ पुगेको छ। अर्जेन्टिनाका लिओनल मेसीको नाममा पनि समान गोल छ। साथै, विश्वकप करिअरमा १८ गोल पूरा गर्दै उनी मेसीको १९ गोलको कीर्तिमाननजिक पुगेका छन्।

एमबाप्पेले विश्वकपको नकआउट चरणमा गरेको गोल संख्या १० पुगेको छ, जुन ब्राजिलका महान् खेलाडी लियोनिडास र रोनाल्डोको ८ गोलको पुरानो कीर्तिमानभन्दा दुई गोल बढी हो। ८५औं मिनेटमा उनलाई विश्राम दिँदै मैदानबाट बाहिर निकालिँदा फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेस्च्यापले सम्मानस्वरूप झुकेर उनको प्रशंसा गरेका थिए।

चार वर्षअघि विश्वकपको उपविजेता बनेको फ्रान्स यसपटक पनि उपाधिको मुख्य दाबेदारका रूपमा अघि बढिरहेको छ। टोलीले हालसम्म चार खेलमा १३ गोल गर्दै दुई गोल मात्र बेहोरेको छ। माइकल ओलिसेले यस अवधिमा पाँच गोलका लागि निर्णायक पास दिएका छन्।

एमबाप्पेले ३२औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। त्यसको चार मिनेटपछि ओलिसेको आकर्षक बाइसाइकल किक पनि पोस्टमा लाग्दा फ्रान्स अग्रता लिनबाट वञ्चित भएको थियो।

दुवै राष्ट्रबीचको पहिलो विश्वकप भेटमा फ्रान्सले अन्ततः पहिलो गोल पहिलो हाफको अन्त्यतिर गर्‍यो। छोटो कर्नरबाट सुरु भएको आक्रमणमा ओस्मान डेम्बेलेको पास पाएपछि एमबाप्पेले भिक्टर ग्योकेरेसलाई छल्दै सानो कोणबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत गरेका थिए।

अन्तर्राष्ट्रिय करियरको ६१औं गोल गरेपछि उनले डेम्बेलेसँग ठोक्किँदै उत्सव मनाए र त्यसपछि आफ्नी आमाको निधनका कारण केही दिन फ्रान्स पुगेका प्रशिक्षक डेस्च्यापलाई अँगालो हाल्न बेन्चतर्फ दौडिएका थिए।

दोस्रो गोलमा स्विडेनका गुस्ताफ लागरबियेल्केको गल्ती महँगो बन्यो। ओरेलियन चुआमेनीको पासमा ओलिसेले डिफेन्डरलाई नटमेग गर्दै बल बार्कोलालाई उपलब्ध गराए र उनले सहज रूपमा गोल गरे।

फ्रान्सको तेस्रो गोल पनि आकर्षक टोलीगत संयोजनको परिणाम थियो। एमबाप्पेको ब्याकहिल पासबाट सुरु भएको आक्रमणमा बार्कोलाले ओलिसेलाई बल दिए। त्यसपछि ओलिसेको पासमा पेनाल्टी क्षेत्रमा दौडिरहेका एमबाप्पेले बल नियन्त्रण गर्दै पोस्टको कुनामा सट प्रहार गरी आफ्नो दोस्रो तथा टोलीको तेस्रो गोल गरे।

अब फ्रान्सले जुलाई ४ मा फिलाडेल्फियामा पाराग्वेसँग अन्तिम १६ को खेल खेल्नेछ। त्यसको विजेताले क्वार्टरफाइनलमा क्यानडा वा मोरक्कोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।