साबिक विजेता अर्जेन्टिनाले केप भर्डेलाई ३–२ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको मियामी रंगशालामा शनिबार बिहान भएको रोमाञ्चक नकआउट खेल अतिरिक्त समयसम्म लम्बिएको थियो, जहाँ अन्तिम निर्णय आत्मघाती गोलले गरायो।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ५९औँ मिनेटमा रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई खेलमा फर्काएका थिए।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर केप भर्डेले हार मानेन। १०३औँ मिनेटमा सिड्नी लोपेस काब्रालले गोल गर्दै खेललाई फेरि २–२ को बराबरीमा ल्याए।
खेलको निर्णायक क्षण १११औँ मिनेटमा आयो। लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेड प्रहार गरेका थिए। उक्त बल केप भर्डेका डिने बोर्जेस (डिनेय) लाई लाग्दै आफ्नै पोस्टभित्र छिरेपछि आत्मघाती गोल भयो र अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो। यही गोल नै अर्जेन्टिनाको जितको आधार बन्यो।
पहिलो पटक विश्वकपमा सहभागी भएको केप भर्डेले विश्व विजेताविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम क्षणसम्म कडा चुनौती दिएको थियो। टोलीका अनुभवी गोलरक्षक भोजिन्हाले १० महत्त्वपूर्ण बचाउ गर्दै अर्जेन्टिनालाई लामो समयसम्म दबाबमा राखेका थिए। तर दुर्भाग्यपूर्ण आत्मघाती गोलका कारण केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम ३२ मै टुंगियो।
यस खेलसँगै मेसीले जारी विश्वकपमा आफ्नो सातौँ गोल पूरा गरेका छन्। अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।
