काठमाडौं। स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले युवा स्टार लामिन यमल अब आवश्यक परे विश्वकपमा पूरा ९० मिनेट खेल्न सक्ने अवस्थामा पुगेको बताएका छन्।
१८ वर्षीय बार्सिलोनाका विंगर यमलले समूह चरणका तीन खेलमा जम्मा १४१ मिनेट मात्रै खेल्दै एक गोल गरेका छन्। विश्वकपमा लिओनल मेसी, किलियन एमबाप्पे, ह्यारी केन, एर्लिङ हालान्ड र भिनिसियस जुनियरजस्ता स्टार खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका बेला यमल भने चोटका कारण सीमित समयमै मैदान उत्रिएका थिए।
अप्रिल २२ मा ह्यामस्ट्रिङमा चोट लागेपछि उनको रिह्याबलाई ध्यानमा राख्दै स्पेनले उनको खेल्ने समय व्यवस्थापन गर्दै आएको थियो। अस्ट्रियाविरुद्ध बिहीबार हुने राउन्ड अफ ३२ को खेलअघि सोफाइ स्टेडियममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक डे ला फुएन्टेले यमलको रिह्याब लगभग पूरा भएको संकेत दिएका हुन्।
‘लामिनले हामीले जति समय खेलाउन चाह्यौं त्यति नै खेल्न सक्छन्,’ उनले भने,‘हामीले अन्य खेलाडीझैं उनको रिह्याबको प्रक्रियालाई पनि सावधानीपूर्वक व्यवस्थापन गरेका थियौं। अहिले उनी निकै राम्रो अवस्थामा छन् र मैदानमा खेल्न अत्यन्त उत्साहित पनि देखिएका छन्।’
त्यसपछि मुस्कुराउँदै उनले थपे,‘अब उनी भोलिको खेल खेल्छन् कि खेल्दैनन्, त्यो हेर्न बाँकी छ।’ गत सिजन बार्सिलोनाका लागि सबै प्रतियोगितामा २४ गोल र १७ असिस्ट गरेका यमलले ह्यामस्ट्रिङ चोटका कारण ला लिगाका अन्तिम ६ खेल गुमाएका थिए।
विश्वकपको पहिलो खेलमा केप भर्डेविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले साउदी अरेबियाविरुद्ध पहिलो रोजाइमा खेल्दै विश्वकपको पहिलो गोल गरेका थिए। त्यसपछि उरुग्वेविरुद्ध ७६ मिनेट खेलेका थिए।
स्पेनले चोटग्रस्त अन्य खेलाडीबारे पनि सकारात्मक खबर पाएको छ। प्रशिक्षक डे ला फुएन्टेका अनुसार उरुग्वेविरुद्धको खेलमा बायाँ काँधमा चोट बोकेका येरेमी पिनो आश्चर्यजनक रूपमा छिटो निको भएका छन् र अस्ट्रियाविरुद्ध खेल्न उपलब्ध हुनेछन्।
यस्तै, मांसपेशीको चोटका कारण समूह चरणका खेल गुमाएका लिभरपुलका नयाँ अनुबन्धित विंगर भिक्टर मुन्योस पनि टोलीमा फर्किएका छन्। यद्यपि‚ उनी लामो समयदेखि प्रतिस्पर्धात्मक खेल नखेलेकाले उनको सहभागिताबारे खेलको अवस्थाअनुसार निर्णय गरिने प्रशिक्षकले बताएका छन्।
अर्का विंगर निको विलियम्स भने अस्ट्रियाविरुद्ध खेल्ने सम्भावना कम छ। तर‚ उनको ग्रोइनको चोटमा सुधार आएकाले स्पेन अन्तिम १६ मा पुगेमा उनी उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ।
सन् २०१० मा विश्वकप उपाधि जितेपछि स्पेनले नकआउट चरणमा उल्लेखनीय सफलता पाउन सकेको छैन। पछिल्ला दुई विश्वकपमा पहिलो नकआउट खेलमै बाहिरिएको स्पेन सन् २०१४ मा त समूह चरणबाटै बाहिरिएको थियो।
तर‚ हालका प्रशिक्षक डे ला फुएन्टेको नेतृत्वमा स्पेनले नयाँ युगको संकेत दिएको छ। उनले टोलीलाई २०२३ को नेसन्स लिग र २०२४ को युरोपियन च्याम्पियनसिपको उपाधि दिलाइसकेका छन्। उनको प्रशिक्षणमा स्पेनले ४५ मध्ये दुई खेल मात्र हारेको छ।
यस विश्वकपमा पनि स्पेनले अहिलेसम्म एक गोल पनि नखाई लगातार तीन ‘क्लिन सिट’ राख्दै नकआउट चरणमा प्रवेश गरेको छ।
