ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई महापालबाट तानेर सुन्धारा पुर्याइएको छ । जात्राको पाँचौ दिन हिजो रथलाई दोश्रो विश्रामस्थल सुन्धारा पुर्याइएको हो ।
पहिलो विश्रामस्थल गाबहालबाट रथ बुधबार तानेर महापालमा एकदिन राखेर सुन्धारा पुर्याइएको हो ।
दोश्रो विश्रामस्थलमा रथ पुर्याएपछि बाराही गुथियारले पनिस्था पुजा गर्नु पर्ने परम्परा अनुसार आज सुन्धारामा होम सहित पनिस्था पुजा हुने रथ निर्माणमा संग्लन बाराही नाइके दिल कुमार बाराहीले बताउनु भयो । उहाँका अनुसार जात्राको क्रममा कुनै विध्नबाघा नआओस, रथका कारणबाट कसैलाई केहि क्षति नहोस भनेर पनिस्था पुजा गरिन्छ।
भोली रथलाई सुन्धाराबाट लगनखेलतर्फ तानिनेछ।
लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।
