काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीमा सहभागिता जनाउन रुवान्डा जान लागेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रमका बीच बिदाइ गरेको छ।
आगामी १८ अप्रिलदेखि १ मेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित आयोजक रुवान्डा, इटाली, अमेरिका र भानुआतु गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १८ अप्रिलमा अमेरिकासँग खेल्नेछ। त्यसैगरी, दोस्रो खेल १९ अप्रिलमा इटालीसँग र तेस्रो खेल २२ अप्रिलमा घरेलु टोली रुवान्डासँग तय भएको छ।
नेपालले २४ अप्रिलमा भानुआतु, २६ अप्रिलमा पुनः अमेरिका, २८ अप्रिलमा रुवान्डा, ३० अप्रिलमा भानुआतु र समूह चरणको अन्तिम खेल १ मेमा इटालीसँग खेल्ने तालिका रहेको छ।
यसपटक टोलीको कप्तानी इन्दु बर्माले सम्हाल्नेछिन् भने उपकप्तानमा पूजा महतो रहेकी छिन्। नेपाली टोलीमा बिन्दु रावल, अनुभवी खेलाडी रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनीषा उपाध्याय समावेश छन्।
