अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि संस्कृति सम्बद्धन केन्द्रले तयार गरेको प्रतिवेदन ललितपुर महानगरलाई  हस्तान्तरण

ललितपुर – ललितपुर संस्कृति सम्बद्धन केन्द्रले नेपालको अर्मूत सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि तयार गरेको प्रतिवेदन ललितपुर महानगरपालिकालाई  हस्तान्तरण गरेको छ। हिजो शनिबार पुल्चोकमा भएको केन्द्रको ९ स्थापनाको दिवसको कार्यक्र्रममा केन्द्रका अध्यक्ष बदनलाल न्याछ्योले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई  प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।

स्थापना दिवसको कार्यक्रममा बोल्दै महानगरका प्रमुख महर्जनले ललितपुर महानगरले मूर्त अमूर्त सम्पदा संरक्षणको लागि उल्लेखनीय काम गरीरहेको बताउँदै आफ्नै कार्यकालमा यूनेस्कोमा नेपालको अमूर्त सम्पदा सूचिकृत गर्नको लागि केन्द्रले काम गर्न सकोस भन्दै यसका लागि महानगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रममा केन्द्रका अध्यक्ष न्याछ्योले  ८ महिना लगाएर तयार पारेको प्रतिवदेनका बारेमा आफ्नो प्रस्तुतीकरण राख्नु भएको थियो ।

संस्कृति शिरोमणी हरिराम जोशी, पूर्वमन्त्री ऋद्धिबाबा प्रधान, नेपाल हस्तकला  महासंघका अध्यक्ष प्रचण्ड शाक्य, लोटस रीसर्च सेन्टरका प्रमुख डा बज्रराज शाक्य, यल जातिय समाजका संयोजक विष्णु सिकर्मी, केन्द्रका उपाध्यक्ष नवराज अमात्य, महासचिव सूवर्णमान अमात्यले अमूर्त सम्पदाको संरक्षणमा जोड दिनु  भएको थियो।

कार्यक्रममा रूद्र ताम्राकारसहितको कलाकारको समूहले विभास रागमा आधारीत ललितपुरका राजा सिद्धिनरसिहं मल्लद्धारा रचित गीत तथा बाद्यवादनको प्रस्तुती राख्नु भएको थियो।

यसभन्दा अघि ८ स्थापना दिवसको कार्यक्रममा केन्द्रले अमूर्त सम्पदा यूनेस्कोमा सूचिकृत गर्नको लागि सरोकारवालासँग व्यापक छलफल गोष्ठी गरेको थियो भने त्यहि गोष्ठी पश्चात ललितपुर महानगरपालिकाको तत्वाधानमा केन्द्रले प्रतिवेदन तयार पारेको हो।