कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेसँगै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। घरेलु मैदान र दर्शकको साथ पाएको नेपाल आजको खेलमा यूएईलाई कम योगफलमा रोक्दै सिरिजमा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ।
आजको खेलमार्फत युवा स्पिन अलराउन्डर सन्तोष यादवले राष्ट्रिय टोलीका लागि डेब्यु गर्दैछन्। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका यादवलाई नेपाली टोलीको ‘प्लेइङ ११’ मा समावेश गरिएको छ।
टोलीको ब्याटिङ सम्हाल्ने जिम्मेवारी कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र आरिफ शेखको काँधमा छ भने अलराउन्डरका रूपमा कप्तान ऐरी र गुल्सन झा मैदान उत्रिएका छन्।
त्यस्तै, बलिङतर्फ सन्दीप लामिछानेले स्पिन आक्रमणको नेतृत्व गर्नेछन्। उनलाई शाहब आलम र डेब्युटान्ट सन्तोष यादवले साथ दिनेछन्। तीव्र गतिको बलिङमा हेमन्त धामी, नन्दन यादव र गुल्सन झाले मोर्चा सम्हाल्नेछन्।
आजको खेलका लागि नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी (कप्तान), गुल्सन झा, सन्तोष यादव, आरिफ शेख, शाहब आलम, नन्दन यादव, सन्दीप लामिछाने र हेमन्त धामी रहेका छन्।
