मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गयो, अरनिको राजमार्ग ठप्प

काठमाडौं – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।

गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ ।  बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

दुर्घटना पछि आक्राेशित स्थानीय बासिन्दाले गएरातिदेखि नै सडक अवरुद्ध पारेका छन् । आन्दोलनका कारण अरनिको राजमार्ग हुँदै बनेपा, कोशीपारी तथा सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न ठाउँमा जानेआउने गाडी चल्न सकेका छैनन् ।

दुई पाङ्ग्रेसहितका साना गाडी भने बनेपा–नाला हुँदै भक्तपुरको जगातीको बाटोमार्फत् ओहोरदोहोर भइरहेका ट्राफिक प्रहरीले जनाएको छ ।