त्रिवि मैदान जलमग्न, वर्षाका कारण एनपीएलका दुवै खेल प्रभावित हुने सम्भावना

निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको अवस्था प्रभावित बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुने तालिका रहे पनि वर्षा नरोकिएका कारण खेल सञ्चालन हुने सम्भावना न्यून देखिएको छ ।

शनिबार बिहानसम्म पनि वर्षा जारी रहँदा मैदान र प्यारापिटमा पानी जमेको छ । वर्षाबाट मैदानलाई जोगाउन अहिले त्रिपालले ढाकिएको छ । वर्षा नरोकिएको र मैदानमा पानी जमेकाले आजका दुवै खेल प्रभावित हुने देखिएको छ । मौसममा सुधार नआए निर्धारित खेल सञ्चालन गर्न कठिन हुने सम्भावना छ ।

आज पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो साढे १२ बजे सुरु हुने तालिका रहेको यो खेलका लागि वर्षा मुख्य चुनौती बनेको छ ।

दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन् । यो खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ । बिहीबार रातिदेखि लगातार भइरहेको वर्षाका कारण मैदानमा पानी जमेको छ । मौसममा सुधार नआए आजका दुवै खेल हुने सम्भावना न्यून देखिएको छ । वर्षाका कारण खेल हुन नसके दुवै टोलीले एक–एक अंक बाँड्नेछन् ।