ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याइएको छ । हिजो रथलाई तंगलबाट लगनखेलसम्म तानिएको हो। तर लगनखेलमा रथलाई पुर्याउनु पर्ने गन्तव्य अर्थात मच्छिन्द्रनाथको आमाको मन्दिरसम्म पुर्याउन सकेको छैन । यसरी पुर्याएपछि मन्दिरलाई रथले तीन फेर लगाउनु पर्ने परम्परा छ।
अहिले रथ एकदमै नाजुक अवस्थामा पुगेको छ। रथको दायाँको पाङ्ग्राको अवस्था राम्रै रहेको तर बायाँ पाङ्ग्राले रथको माथिको भाग पुरै छोएकोले रथ गुड्न नसक्ने अवस्थामा पुगेको छ। त्यसैले हिजोको यात्रा गन्तव्यमा नपुगे पनि रोकिएको हो।
लगनखेलमा रथलाई अहिले क्रेनको सहयोगले राखिएको छ।

विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपाली रथमा समस्या भएकोले लम्बिएको छ। सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यसदिन रथलाई थपाहितिसम्म मात्र तान्न सकेको थियो। थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो त्यसबेला रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो। मंगलबार रथ चक्रबहिलबाट तानेर तंगलसम्म मात्र पुर्याउन सकेको थियो भने हिजो बुधबार तंगलबाट लगनखेलसम्म तान्न सकेको हो।
जात्राको पहिलो दिन नै रथ देब्रेतिर ढल्किएर समस्या भएको थियो भने त्यसबेलादेखि नै रथ देब्रेतिर ढल्किरहेको छ। यसवर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो।
फोटोः सुप्रिन्स शाक्य
