अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।
यद्यपि, अदालतले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रूपमा क्यारोललाई बलात्कार गरेको घटनामा भने ट्रम्प दोषी नदेखिएको फैसला सुनाएको छ । किनभने यो मुद्दा फौजदारी (क्रिमिनल) कोर्टमा नभई सिभिल कोर्टमा चलेको थियो ।
यो मुद्दा मेनहटनको सङ्घीय अदालतमा करिब दुई सातासम्म चलेको थियो । मुद्दाको सुनुवाइमा भने ट्रम्प उपस्थित थिएनन् । उनले सुरुदेखि नै आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै आएका थिए । ६ जना पुरुष र ३ जना महिलासहितको जुरीले मंगलबार करिब तीन घन्टासम्म छलफल गरेर ट्रम्पको विपक्षमा फैसला सुनाएको हो ।
न्यायालयले आफुविरुद्ध फैसला सुनाएपछि ट्रम्पले अदालतको फैसलाबाट आफ्नो अपमान भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै क्यारोलको विषयमा पनि आफूलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
