दाङ – दाङको देउखुरीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा सोमबार राति दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुर निवासी ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भालुवाङ अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–३ मसुरियाका १६ वर्षीय निशु चौधरी र सोही ठाउँकी १९ वर्षीया करिना चौधरी गम्भीर घाइते भएका छन्। घाइते दुवै जनाको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि प्रहरीले ट्रक, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
