भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३० भन्दा धेरैको मृत्यु

भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २३० भन्दा धेरैको मृत्यु भएको छ ।  चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए ।

विविसीका अनुसार दुर्घटनामा २३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुग्नु भएको छ । उहाँले ट्विट गर्दै दुर्घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गर्नु भएको छ । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उहाँको घोषणा छ।

शुक्रबार बेलुकीदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।