त्यो देश बाहिर कसरी पुग्यो? कुन माध्यमबाट गयो? प्रश्न खट्किरह्यो
सिल्भिया राजोपाध्याय्
सदा झै इमेल खोलें, सधैं नै आइरहने एउटा विदेशी अनुवादसँग सम्वन्धित संस्थाको इमेल urgent लेखिएकोले पहिले पढेंं । करिब ५०० वर्ष जति पुरानो लामो पौभामा रहेका शब्दको अनुवाद गर्नु पर्ने, नेपाली अक्षर हो कि होइन निश्चित गरेर छिटै जवाफ पठाउ भन्ने आशयको इमेल रहेछ । एकदमै पुरानो जिर्ण अवस्थामा रहेको लामो पौभाको केहि फोटो थियो, इमेलसँगै । फोटो हेरें , शब्दहरु पढें , नेपालीमा थिएनन् । त्यसैले तत्कालै यो नेपाली होइन, यो नेपाल भाषा ( नेवार भाषा) हो भनेर ठोकेर मैले जवाफ पठाएँ। त्यहाँबाट फेरि इमेल आयो, साँच्चै हो भनेर । मेले फेरि त्यहि शब्द दोहोर्याएँ ।
केहि दिन पछि फेरि त्यहिकै इमेल आयो, हो तिमीले भनेको ठीक रहेछ यो निकै पुरानो लामो पौभाबारे ग्लोबल प्रोजेक्ट अन्तर्गत अनुसन्धान भइरहेको छ, , काम दिने व्यक्तिले पनि नेपाल भाषा नै हो भनेर कन्फर्म गर्यो, यो नेपाल भाषामा रहेका अक्षरको अंग्रेजीमा अनुवाद गर्नु पर्यो, अनुसन्धानमा सहयोग गर्नु पर्यो भनेर ९७ वटा फोटो सहितका फाइल पठायो। धेरै धोरीएर हेरे पछि मात्र केहि केहि अक्षर चिन्न सक्ने जिर्ण अवस्थाको थियो, त्यो पौभा । ऐतिहासिक पौभा २१ मीटर लामो र ०॰४५ मीटर चौडाइको रहेछ, कोरिएका चित्र धमिलो भइसकेका र अक्षरहरु कतै खुइलिसकेका कतै फेरि लेखेर टाँसेको थियो ।
त्यो अनुवादको काम कसरी गर्ने जस्तो लाग्यो, अनुवादमा समस्या थिएन, तर अक्षर धमिलो भएकोमा समस्या थियो। बेकारको टाउको दुखाइ जस्तो पनि लाग्न थाल्यो, तर आफनो देशको ऐतिहासिक सम्पदाको ग्लोबल अनुसन्धान भएकोमा म हर्षित पनि थिएँ त्यसैले त्यस्तो काममा संलग्न हुन पाउँदा खुशि पनि लागेको थियो। जस्तो कठिन भए पनि अनुसन्धानमा सधाउछु भन्ने अठोट लिएर अक्षरहरु पढ्न कोशिश गर्न थालें। अक्षर ठम्याउन निकै कोशिस गरें । चिन्न गार्हो भयो। त्यसैले कहाँको चित्र हो? अक्षर आफैले हेरे झन स्पष्ट हुन सकिन्छ भनेर काम दिने संस्थालाई इमेल पठाएँ। जवाफ आयो, यो असम्भव छ, त्यो तिम्रो देशमा छैन ।
पछि शुरुमा पठाएका फोटोहरुकै माध्यमबाट अक्षर चिन्ने काम शुरु गरें। प्रारभ्मिक अक्षर चिन्ने कामको लागि अभिलेख विज्ञ सिद्धराज शाक्य, अमर राज शर्मा र राजेन्द्र शाक्यको सहयोग पनि लिएँ । उक्त पौभामा ऐतिहासिक सिहंसार्थ बाहुको तिब्बत यात्राको कथामा पद्मोत्तरको लोक आगमनसँग सम्वन्धित कथन जोडिएको थियो। धार्मिक पौभा नेपाल सम्वतको गुलाँ महिनामा बहाल बहीमा प्रर्दशन गरिने चलन छ ।
सिहं सार्थ बाहुको ऐतिहासिक यात्राका लोककथासँग सम्वन्धित पौभा काठमाण्डौंको ठमेलमा स्थित विक्रमशील महाविहार लगायत अन्य बहालमा प्रर्दशन गरिन्छ सिहंसार्थ बाहुमा आधारित जर्मन म्युजीयममा रहेको ११.४० मीटर लम्वाइ व ०.५५ चौडाइको लामो पौभा अध्ययन अनुसन्धान गरेर जर्मन विश्व विद्यालयका प्रोफेसर डा लिनहर्टले किताव लेख्नु भएको थियो। यस विषयमा होलिक्रस विश्वविद्यालयका प्रा टड लेविसले पनि अध्ययन गरी किताव प्रकाशित गर्नु भएको थियो। तर हाल प्राप्त भएका फोटोसँग सम्वन्धित पौभा वहाँहरुले अनुसन्धान गर्नु भएको पौभा भन्दा पनि दुइ दोब्बर लामो र कथा विस्तृत रुपमा भएकोले पनि यसको महत्व झनै बढि छ जस्तो लाग्न थाल्यो ।
पौभाको विषयमा अध्ययन गर्नु भएका ठमेलका स्थानीय दामोदर प्रधान (जो हाल क्यानाडामा हुनुहुन्छ) वहाँलाई पनि मैले यस विषयमा जान्नको लागि फेसवुकबाट सम्पर्क गरें तर वहाँले पनि यस पौभाप्रति अनभिज्ञता व्यक्त गर्नु भयो। काम दिने संस्थाले यस पौभा तपाईको विचारमा कति वर्ष पुरानो होला भनेर पटक पटक सोधिरह्यो । उनीहरुले ५०० वर्ष जति पुरानो होला कि भन्ने अनुमान गरेका रहेछन् । नेपाल भाषाका १० लिपि मध्ये त्यसमा मैले पनि बुझने सक्ने प्रचलित लिपि रहेकोले चित्र ३०० वर्ष जति पुरानो हुन सक्ने भए पनि अक्षर १५० वर्ष जतिको मात्र होला भनेर जवाफ फर्काए ।
हुनत अहिले अनुवादको काम सकिसक्यो, दायित्वबाट मुक्ति पनि पाइ सकें । तर पनि कौतुहलता कायम नै छ । त्यस्तो पुरातन दुर्लभ सम्पदा कहाँको थियो ? यदि काम दिने संस्थाले सत्य कुरा लेखेको भए , विदेश पुगेको भए, त्यो देश बाहिर कसरी पुग्यो? कुन माध्यमबाट गयो? प्रश्न खट्किरहेको छ ।
