काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ४६ जना नेपाली नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ ।
थाइल्याण्डस्थित नेपाली राजदूतावासको विशेष पहलमा चैत ३० र वैशाख १ गते उनीहरूलाई कम्बोडियाबाट उद्धार गरी नेपाल पठाइएको हो ।
विभिन्न माध्यमबाट कम्बोडिया पुर्याइएका यी नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानूनी गतिविधिमा संलग्न गराइएको दूतावासले जनाएको छ ।
भिसा नभएका र अवैध रूपमा बसिरहेका उनीहरूको पहिचान गरी दूतावासले उद्धार प्रक्रिया अघि बढाएको थियो । दूतावासका अनुसार अझै पनि कम्बोडियामा धेरै नेपालीहरू अलपत्र अवस्थामा रहेको र उनीहरूलाई पनि स्वदेश फर्काउन निरन्तर पहल भइरहेको छ । पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ, जहाँ सन् २०२५ मा मात्रै ९,६७६ जना नेपाली पुगेको तथ्यांक छ ।
