डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु ,ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाँचजनाको शव भेटिएको पुष्टि गरे ।

डीएसपी भारतीकाअनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र नेपाली नागरिक क्याप्टेन के मल्ल छन् ।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।