भिनिसियस जुनियरले ब्राजिलियन फुटबल इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
२४ वर्षपछि विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने उनी पहिलो ब्राजिली खेलाडी हुन्।
२५ वर्षीय फरवार्डले स्कटल्यान्डविरुद्ध ब्राजिलको ३–० को प्रभावशाली जितमा दुई गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन्। यसअघि उनले समूह चरणका पहिलो दुई खेलमा मोरक्को र हाइटीविरुद्ध पनि गोल गरेका थिए।
स्कटल्यान्डविरुद्धको दुई गोलसँगै भिनिसियसले २००२ विश्वकपपछि पहिलोपटक कुनै ब्राजिली खेलाडीले समूह चरणका तीनै खेलमा गोल गर्ने उपलब्धि दोहोर्याए। त्यस विश्वकपमा ब्राजिललाई उपाधि दिलाउने क्रममा रोनाल्डो नाजारियो र रिभाल्डोले समूह चरणका तीनवटै खेलमा गोल गरेका थिए।
यस उपलब्धिसँगै भिनिसियस ब्राजिलका फुटबल महानायकको विशेष सूचीमा समावेश भएका छन्। विश्वकप इतिहासमा तीन संस्करणमा चार ब्राजिली खेलाडीले मात्र यस्तो कीर्तिमान बनाएका छन्।
१९७० मा जाइरजिन्हो, १९९४ मा रोमारियो तथा २००२ मा रोनाल्डो र रिभाल्डोले यो उपलब्धि हासिल गरेका थिए।
रोचक पक्ष के छ भने यी सबै अवसरमा ब्राजिलले अन्ततः विश्वकप उपाधि जितेको थियो। त्यसैले भिनिसियसको यो उपलब्धिले ब्राजिलका समर्थकलाई नयाँ आशा दिलाएको छ। इतिहास दोहोरिने हो भने ब्राजिलको ‘हेक्सा’ अर्थात् छैटौं विश्वकप उपाधिको सपना साकार हुन सक्ने संकेत देखिएको छ।
