काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित सोल्टी होटलमा एनआरएनए डे र वार्षिक साधरणसभा सोल्टी होटलमा शुरु भएको छ।
‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन्। अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन। मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघमा कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररूपमा काम गर्न आग्रह पनि गरे। उनले भने, ‘म अहिले प्रधानमन्त्री छु। म देशको प्रधानमन्त्री हो। एमालेको मात्रै प्रधानमन्त्री होइन। राष्ट्रपति पनि त्यही हो। राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ। सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन्। हामीले त्यस हैसियतले काम गर्ने हो।’
‘सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन, गर्दैन। तपाईँहरूले राजनीतिक दलको राजनीति संघमा नगरिदिनू,’ उनले भने, ‘एनआरएनएको पदाधिकारी दलको होइन, संस्थाको हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन केके गर्नुपर्ने हो, प्रस्ताव ल्याउन आग्रह गरेका छन्। उनले संसदबाट ऐन संशोधन गर्न पनि तयार रहेको बताए। एनआरएनएलाई नेपालमा काम गर्नको लागि पूर्वधार तयार भइसकेको भन्दै ढुक्कसँग लगानी गर्न पनि उनले आह्वान गरे।
कार्यक्रममा परराष्ट्र मन्त्री आरजु राणा अस्वस्थ भएको बताउँदै गृहमन्त्री रमेश लेखकले प्रतिनिधित्व गरेको जानकारी गराएका थिए। विशेष अतिथि गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली अवैतानिक दूतको रूपमा विश्वभर पुगेर राष्ट्रलाई योगदान गरेको बताए।
‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दूतको रूपमा हुनुहुन्छ। नेपाललाई कसरी देखाउनुहुन्छ, नेपालको इमेज त्यस्तै बन्छ,’ गृहमन्त्री लेखकले भने।
गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको उनको भनाइ थियो। ‘अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन,’ उनले भने, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आगामी अधिवेशनमा संशोधन प्रस्ताव लैजान सक्छौँ।’
लोकतन्त्र अराजकता नभई अनुशासनसमेत रहेको उनले स्पष्ट पारे। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रित रही एनआरएनए डे र वार्षिक साधरणसभा सुरु भएको हो।
उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रूपमा जति सफल भए पनि देश सफल हुनुपर्ने उद्देश्यले एनआरएनए अभियान सुरु भएको स्मरण गर्दै सुरुमा मुटुबाट सोचे पनि पछिल्लो समय बौद्धिकता लगाउँदा संघमा समस्या आएको बताए।
‘हामीले विदेशको धनाढ्य, ठूलो विश्वविद्यालयको प्रोफेसर भनेर नेपालमा मन्त्रालय, विश्वविद्यालयलाई सुझाव दिने गरेका छौँ,’ महतोले भने, ‘तर अभियानलाई नै सँगै राख्न सकेनौँ। सबैले संकल्प गरौँ, देश समृद्ध नभएसम्म केही हुँदैन।’
उनले छिटै नै एकजुट भएर गैरआवासीय अभियानलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। संघका अध्यक्ष डा बद्री केसीले विश्वभर नेपालको राम्रो छवि बनाउन गैरआवासीय नेपालीले काम गरिरहेको र स्वदेशमा प्राकृतिक प्रकोप पर्दा पनि सहयोग गर्न सधैँ तयार रहेको बताए।
‘विदेशमा बस्ने नेपालीले वार्षिक १५ खर्ब बढी रेमिट्यान्स पठाएका छन्। ठूलो लगानीसमेत भित्रिएको छ,’ अध्यक्ष केसीले भने,‘नेपालमा लगानी गर्न विदेशी भएर गर्नुपर्ने अवस्था छ। कानुन संशोधन गरेर सीमा नतोकी लगानी भित्र्याउन दिनुपर्छ।’
उनले नेपाल सरकारको हस्तक्षेपकै कारण गत वर्षको अधिवेशन विवादमा परेको बताए। ‘सीआईबी लगाएर धरपडक गरियो। तर अनुसन्धान रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएन,’ उनले भने।
संघले नेपालमा १ अर्ब बढी परोपकारका क्षेत्रमा काम गरेको पुस्तक सार्वजनिक गरेको छ।उपाध्यक्ष हेमराज शर्माले नेपालमा १ खर्ब बढी लगानी गरेको तथ्यांक रहेको जानकारी दिए।
विदेशमा नेपालीले पाँच तारे होटल सञ्चालनदेखि हार्वर्ड, अक्सफोर्ड, एमआईटीजस्ता विश्व चर्चित विश्वविद्यालयको प्राध्यापन गर्न पुगेको बताउँदै उनले भविष्यमा नेपाल निर्माण गर्न फर्कने विश्वास पनि व्यक्त गरे।
‘गैरआवासीय नेपाली संघ सीमित व्यक्तिको बनाउने कि सबैको बनाउने भन्ने द्वन्द्वका कारण उतारचढाव देखिएको छ,’ उनले भने, ‘केहीले नयाँ पद्धति स्वीकार नगर्दा समस्या देखिएको छ।’
उनले ऐनका केही व्यवस्था संशोधनको आवश्यकता रहेकाले अगाडि बढाइहाल्न सरकारसमक्ष आग्रह पनि गरे। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पण्डे, खेलकुद मन्त्री तेजुलाल चौधरीसहित विभिन्न राजनीतिक दलका नेता तथा व्यावसायिक संघसंस्थाको उपस्थिति थियो।
आज सुरु भएको कार्यक्रममा नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र भूतपूर्व गोर्खा सैनिक, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी घनीभूत छलफल हुने संघले जनाएको छ।
कार्यक्रमको दोस्रो दिन भोलि (सोमबार) राष्ट्र निर्माणका लागि प्रवासी युवाको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा, नेपाल पर्यटन प्रवर्धन : नीति निर्माण, अपेक्षा, चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरू समावेश गरिएका छन्।
भोलि नै गैरआवासीय नेपाली संघको विधानअनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ। संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रत्यक्ष र भर्चुअल माध्यमद्वारा सहभागिता जनाउनेछन्।
