गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए ।
विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने,‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिलेसम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको बिषयलाई लिएर दुई दलबिच खटपट भएको छ नि भन्ने संचारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको बिषयलाई लिएर वेकामको हल्ला चलाइएको बताए ।
‘एमाले र काँग्रेसबिच कुनै पनि बिषयमा कुनैपनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौं,’ उनले भने ।
