फागू पूर्णिमा मर्यादित रूपमा मनाउन आग्रह, मेला–महोत्सवमा प्रतिबन्ध

काठमाडौं – होली पर्वको अवसरमा मञ्च बनाएर सांगीतिक कार्यक्रम आयोजना गर्ने तथा भेला, मेला–महोत्सव गर्ने कार्यमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ। निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारी रिजालद्वारा जारी सार्वजनिक सूचनामा खुला सडक तथा सार्वजनिक स्थानमा भीड जम्मा गर्ने, मेला–महोत्सव गर्ने, मञ्च स्थापना गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने, मादक पदार्थको बिक्री–वितरण तथा सेवन गर्ने तथा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा अनुरोध गरिएको उल्लेख छ।

होली पर्व मनाउने नाममा चुनाव प्रचारको रूप दिन खोजिएको आशंकापछि प्रशासनले कडाइ गरेको जनाइएको छ। प्रशासनले निर्वाचन चिन्ह र झण्डा अंकित लोगो वा स्टिकर तथा कपडा—जस्तै टोपी, क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट—लगाउन तथा त्यस्ता सामग्रीसहितको झोला बोक्न नपाइने स्मरण गराएको छ।

होलीलाई लक्षित गरी निर्वाचन चिन्ह वा उम्मेदवारको तस्वीर अंकित भेष्ट, टि–सर्ट, कमिज, गम्छा लगायतका कपडा प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यद्यपि, होली पर्व मर्यादित रूपमा मनाउन, एकअर्काको इच्छाविपरीत रंग र अबिर नदल्न तथा लोला वा पानीका बेलुन प्रहार नगर्न समेत प्रशासनले आग्रह गरेको छ।