मध्यपूर्व युद्धको संघारमा: खामेनीको मृत्यु, इरानको प्रतिशोधी चेतावनी

मध्यपूर्व एकपटक फेरि ठूलो द्वन्द्वको संघारमा पुगेको छ। इरानका सर्वाेच्च नेता आयतोल्लाह अली खामेनीको आक्रमणमा मृत्यु भएको पुष्टि भएसँगै क्षेत्रीय तनाव चरम अवस्थामा पुगेको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनीसहित उनका परिवारका केही सदस्य पनि मारिएका छन्। घटनापछि देशभर ४० दिने राष्ट्रिय शोक घोषणा गरिएको छ।

यससँगै इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कडा प्रतिक्रिया जनाउँदै अमेरिकी सैन्य अड्डा र इजरायललाई लक्षित गर्दै “इतिहासकै शक्तिशाली आक्रमण” शुरू हुन सक्ने चेतावनी दिएको छ।

संक्रमणकालीन सत्ता संरचना

खामेनीको निधनपछि राष्ट्रपतिसहित तीन सदस्यीय नेतृत्वले देशको शासन सम्हाल्ने व्यवस्था गरिएको छ। राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले हालको राजनीतिक तथा सुरक्षात्मक अवस्था व्यवस्थापन गर्ने जनाइएको छ।

आक्रमण र प्रत्याक्रमण

इजरायलले इरानमाथि आक्रमणको अर्को चरण शुरू गरेको दाबी गरेको छ। इजरायली सेनाका अनुसार इरानका ब्यालिस्टिक क्षेप्यास्त्र भण्डार र हवाई रक्षा प्रणालीलाई लक्षित गरी कारबाही गरिएको हो।

जवाफमा इरानले अमेरिकी सैन्य उपस्थिति रहेका संयुक्त अरब इमिरेट्स, कतार, बहराइनकुवेतमा आक्रमण गरेको बताइएको छ। आक्रमणमा इरानतर्फ दुई सयभन्दा बढी मानिस मारिएको रेड क्रिसेन्टले जनाएको छ।

हवाई क्षेत्र बन्द, अन्तर्राष्ट्रिय चिन्ता

तनाव बढेसँगै मध्यपूर्वका धेरै देशहरूले हवाई क्षेत्र बन्द गरेका छन्। अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् भने विभिन्न मुलुकहरूले आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय समुदायले भने संयम अपनाउन र वार्तामार्फत समाधान खोज्न दुवै पक्षलाई आग्रह गरिरहेको छ।