मध्यपूर्वमा बढ्दो तनाव र त्यसबाट सिर्जित सुरक्षा तथा इन्धन संकटलाई मध्यनजर गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएलको ११औँ संस्करण खाली रङ्गशालामा आयोजना गर्ने अप्रत्याशित निर्णय गरेको छ।
यसअघि ६ वटा सहरमा सञ्चालन गर्ने कार्यतालिका रहे तापनि हाललाई कराँची र लाहोरमा मात्र खेलहरू केन्द्रित गरिने भएको छ।
सुरक्षा संवेदनशीलताकै कारण लाहोरमा हुने भनिएको भव्य उद्घाटन समारोह समेत रद्द गरिएको जानकारी पीसीबीका अध्यक्ष मोहसिन नकवीले दिनुभएको छ।
परिस्थिति प्रतिकूल रहेकाले दर्शकको सुरक्षालाई प्राथमिकता दिँदै यो कदम चालिएको हो।
बोर्डले टिकट बिक्री भइसकेका दर्शकलाई रकम फिर्ता गर्ने र आयोजना स्थल परिवर्तन हुँदा फ्रेन्चाइज टोलीहरूलाई हुने आर्थिक घाटाको क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
खेल तालिका यथावत रहँदै मार्च २६ देखि मे ३ सम्म सञ्चालन हुने यस प्रतियोगितामा पहिलो पटक आठ टोली भिड्दै छन्, जसमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले इस्लामाबाद युनाइटेडबाट आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन्।
