न्यु चन्डीगढमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा पञ्जाब किङ्सले गुजरात टाइटन्समाथि ३ विकेटको जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन जोडेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै १६३ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्यो। पञ्जाबको जितमा डेब्यू खेलाडी कूपर कोनोलीले अविजित ७२ रनको उत्कृष्ट इनिङ खेल्दै मुख्य भूमिका निभाए। आईपीएल इतिहासमा एक पटकको च्याम्पियन गुजरात विरुद्धको यो जितले अघिल्लो सिजनको उपविजेता पञ्जाबलाई थप मनोबल प्रदान गरेको छ। यसैबीच आजको खेलमा दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट नेपाली समयअनुसार बेलुका पौने ८ बजे लखनउमा भिड्दैछन्।
