काठमाडौँ । सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन र यस क्षेत्रमा हुने ढिलासुस्ती एवं अतिक्रमण रोक्न पत्रकारिताले ‘वाचडग’ (निगरानीकर्ता) को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा बिहीबार हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको ‘सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका’ विषयक विचार गोष्ठीका वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले उपत्यकाको मौलिक पहिचान जोगाउन स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमबीच बलियो सहकार्य हुनुपर्ने बताउनुभयो। उहाँले सम्पदाका सवालमा सञ्चार क्षेत्र अझ बढी जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणालीलाई सम्पदा संरक्षणको मेरुदण्ड मान्दै पत्रकारहरूले यसका प्राविधिक र ऐतिहासिक पक्षमा गहिरो अध्ययन गरेर तथ्यपरक रिपोर्टिङ गर्नुपर्ने सुझाव दिनुभयो।
संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले आधुनिक समयमा डिजिटल माध्यम र मातृभाषाको पत्रकारिता मार्फत सांस्कृतिक बिरासतलाई नयाँ पुस्तासम्म पुर्याउन सकिने उल्लेख गर्नुभयो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस पैरवी गर्न र लोपोन्मुख संस्कृतिलाई मूलधारमा ल्याउन पत्रकारिताको ठुलो योगदान रहने बताउनुभयो।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पत्रकारिता केवल सूचना प्रवाह मात्र नभई मौलिक ज्ञान र संस्कारको दस्तावेजीकरण गर्ने माध्यम पनि भएको बताउनुभयो। उहाँले मातृभाषाका सञ्चार माध्यमले स्थानीय पहिचान जोगाउन खेलेको भूमिकाबारे चर्चा गर्नुभयो।
कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्य र वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले सम्पदा पत्रकारितामा सन्तुलित प्रस्तुति र विषयगत अध्ययनको अपरिहार्यतामाथि प्रकाश पार्नुभयो।
दबूका पदाधिकारीहरू सुनिल महर्जन, के.के. मानन्धर र राजु नापितले नागरिक पत्रकारिता, तालिम र स्रोत साधनको व्यवस्थापन गर्दै समुदायसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभएको थियो।
