अस्पतालमै पुगेर घाइतेको अवस्था बुझ्दै गृहमन्त्री, डा. सुनिल शर्माको सेवाको सराहना

गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिन केएमसी अस्पताल पुगेका छन्। गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निरन्तर सक्रिय देखिएका मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि सिधै अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो।

केएमसी अस्पतालमा पूर्व सांसद डा. सुनिल शर्माले घाइतेहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आउनुभएको छ। अधिकांश घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् भने केही अझै गम्भीर अवस्थामा अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको जानकारी डा. शर्माले दिनुभयो।

भेटका क्रममा गृहमन्त्री गुरुङले डा. शर्माको सेवाभावको प्रशंसा गर्दै घाइते मात्र होइन, उनीहरूका परिवारलाई समेत राहत दिएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। “यो सेवाले धेरैको आँसु पुछेको छ,” भन्दै उहाँले यस्तो कार्य निरन्तर रहोस् भन्ने अपेक्षा राख्नुभयो।

डा. शर्माले सबै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताउँदै सेवा निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।