काठमाण्डौंका शाक्यहरु मात्र सम्मिलित हुने १० वटा बहालहरुलाई समेटेर स्थापना गरिएको शाक्य महाविहार संघको आयोजनामा यस वर्ष दोस्रो पटक शाक्य संघदान (संघभोज) शाक्य भोज विहीबार समापन भएको छ ।
विभिन्न बहाः बहीका शाक्यहरुका उपस्थितिमा आयोजना गरिने यस शाक्य संघ भोजमा श्री दीपंकर तथागत समक्ष पूजा गरी उपस्थित हुनुभएका महानुभावहरुलाई संघदान पनि गरिएको छ । संघका महासचिव संघरत्न शाक्यले बताउनु भए अनुसार यस वर्ष भोजमा पुरुषलाई मात्र नभई महिलाहरुलाई पनि समावेश गरिएका छन् भने दान प्रदान भने पुरुषहरुलाई मात्र गरिएका छन् ।
संघका अध्यक्ष शुभकाजी शाक्यले गत वर्ष पहिलो पल्ट आयोजना गर्दा पुरुषहरुलाई मात्र समावेश गरिएकोमा यस वर्ष महिलाहरुलाई समेत समावेश गरिएको र त्यसले गर्दा सहभागीहरु उत्साहजनक रुपले वृद्धि भएको कुरा बताउनु हुँदै यस क्रमलाई अझै वृद्धि गर्दै लैजाने लक्ष्य रहेको कुराको जानकारी दिनुभयो ।
त्यसै गरी, वहाँले नेवारहरु संगठित हुनु पर्ने र आफ्ना संस्कृति परम्परालाई जीवन्त राख्नु पर्ने कुरामा जोड दिनुहुँदै शाक्यहरु बिचको यस भोजलाई निरन्तर रुपमा अगाडि बढाउने प्रयास गरिएको हो भनी भन्नुभयो ।
शाक्य कुलको परम्परा अनुसार परापूर्व कालदेखि हुँदै आएको यस प्रकारको शाक्य भोज धेरै वर्षदेखि बन्द भएका थिए । शाक्य सर्वसंघ भोजलाई निरन्तरता दिन शाक्य महाविहार संघले सांस्कृतिक पर्वका रुपमा शाक्य सर्वसंघ भोज आयोजना गरिएको भनी संघका उपाध्यक्ष अमीरमान शाक्यले बताउनु भयो ।
शाक्य महाविहार संघमा उपत्यकाको काठमाण्डौंका श्रीघः बहाः, नःघः बहाः, तःधं बहाः, वँतु, महाबुद्ध बहाः महाबौद्ध, स्वबहाः, यंगाः, असं बहाः, असं गल्लि, बिकमाः बहाः, ओम बहाः, यता बहाः, ग्वःफः लगं, क्वहिति बहाः, र क्वंसाः बहाः ह्यूमत समावेश छन् । यस भोजमा समावेश हुन ६०० रुपैंया प्रवेश शुल्क दिनुपर्ने ब्यवस्था गरिएको छ भने कुनै पनि सोधपूछ गर्नु परेमा संघको कार्यालय वा महासचिव, अध्यक्षसंग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
