विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ फिफा महिला वरियतामा नेपाल र बंगलादेशले उच्च सुधार गरेका छन्।
नयाँ वरीयतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लिन सफल हुँदा बंगलादेशले २४ स्थान सुधार गरेर १०४ औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल भने १००औँ स्थानमा रहेको थियो।
नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। एसिया कपमा पहिलो पटक स्थान बनाएको बंगलादेशले भने अहिलेसम्मकै उच्च स्थान सुधार गर्न सफल भयो। बंगलादेशले ११७९ अङ्क हासिल गर्न सफल भयो।
नेपालले एएफसी एसियाकप छनोटअन्तर्गत लाओसलाई ९-० को फराकिलो अन्तरले पाखा लगाएको थियो। दोस्रो खेलमा श्रीलंकालाई ८-० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग ३-३ को बराबरी खेले पनि पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुन पुग्दा अस्ट्रलियाको टिकट काट्नबाट बञ्चित भएको थियो।
बंगलादेशले भने आफ्ना सबै तीन खेल जितेको थियो। उसले २९ जुनमा बहराइनलाई ७-० ले हराउँदा म्यानमारलाई २-१ र तुर्कमेनिस्तानलाई ७-० ले हराएर एसिया कपमा स्थान बनाएको थियो। डिसेम्बर २०२२ मा १४२ औँ स्थानमा रहेको बंगलादेशले पछिल्लो २ वर्षमा निरन्तर छलाङ मारिरहेको छ।
नेपालले पनि एकैपटक यो स्तरमा उपलब्धि हासिल गरेको पहिलो पटक हो। डिसेम्बर २०२३ मा १०५ औँ स्थानमा रहेको नेपालले त्यसपछि झिनो सुधार गर्दै आएको थियो। तर, यसपटक एकै चोटी १३ स्थान सुधार गरेको हो।
दक्षिण एसियाली राष्ट्रमा भारत सात स्थान सुधार गर्दै ६३ औँ स्थानमा उक्लिएको छ। त्यस्तै, पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ। त्यस्तै, भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लिन सफल भयो।
फिफा वरियतामा स्पेन अमेरिकालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिँदा एक स्थान तल झरेको अमेरिका दोस्रो र तीन स्थान सुधार गरेको स्वीडेन तेस्रो स्थानमा उक्लेको छ। एक स्थान सुधार गरेको इङल्यान्ड चौथो स्थानमा छ।
