होली पर्वको अवसरमा आज बसन्तपुरमा बिहान चीर ठड्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ७.४७ बजेको साइत निकालिएको हो भने उही साइत अनुसार चीरोत्थान गरिएको हो । यस चरोत्थानको क्रममा गुर्जुको पल्टन समेत उपस्थित भएको छ ।
चीरोत्थानको समयमा अधिक नेपाली जनसमुदाय सहभागी भई अवलोकन गरेका छन । यस सांस्कृतिक महत्वले भरिपूर्ण चीरोत्थान गर्ने कार्यमा नेपाली सेनाले पनि सहयोग गरेका छन् । चीरोत्थानपछि टोप पड्काउने काम पनि भएको छ । यस दिन ठड्याइएको चीर होली समाप्त भएको दिन चिल्लाथ्वः चतुर्दशी, आइतबार (चैत्र ११ गते) राती ११.२१ बजे चीरोन्मूलन गर्ने साइत निस्किएको छ ।
यही दिन राती १२.०७ बजे टुंडिखेलमा चीरदाहको साइत भएको कुरा पनि ज्ञात हुन आएको छ । चीर ठड्याएपछि काठमाण्डौंमा होली पर्व शुरु भएको मानिन्छ । होली पर्व आठ दिनसम्म मनाइने चलन छ । नेपालीहरुले होली निकै उत्साहपूर्वक मनाउने गरिहरेका छन् भने यस दिन बसन्तपुरमा भव्य रुपमा सामूहिक रुपमा होली खेल्ने पनि गर्दै आइरहेका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराई/मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।
