हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु

ललितपुर – ललितपुरको हरिसिद्धिमा त्रिशक्ति भवानीको जात्रा शुरु भएको छ । हरेक वर्ष होली पूर्णिमा दिन हरिसिद्धिमा भवानीको जात्रा हुने गर्दछ ।

आज विहान ४ बजे देवीलाई स्थानीय लाछिमा विराजमान गरेर देवी नाच शुरु भएसँगै जात्रा शुरु भएको हो । त्रिशक्तिभवानीको जात्राको क्रममा २९ जना देवदेवी सम्मिलित तान्त्रिक जलनाच दिनभर देखाइने चलन छ ।

पहिले योमरी पूर्णिमा देखि तीन महिनासम्म देखाइने नाच अहिले नाच शुरु हुने दिन योमरी पूर्णिमा र समापन हुने दिन होली पूर्णिमाका दिन गरेर दुई दिनमात्र देखाउने गरिन्छ ।

धुलिखेलका स्थानीयबासिन्दाले त्रिशक्ति भवानीलाई कुलदेवीको रुपमा पुज्ने गर्दछन् ।

यसै विच त्रिशक्ति भवानीको १२ वर्षे जात्रा समापन गर्नको लागि तयारी भएको छ । १२ वर्षे जात्राका क्रममा त्रिशक्ति भवानीलाई धुलिखेल , पनौति, दोलखा, पशुपति लगायतका ठाँउमा लगेर जल नाच देखाइएको थियो।