ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा विद्यार्थी र अभिभावकको आकर्षण

काठमाडौं –  ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा विद्यार्थी र अभिभावको आकर्षण बढेको छ । कक्षा ७ देखि ९ सम्म नयाँ भर्ना गर्न पुग्ने विद्यार्थीको सङ्ख्या बढेको छ ।

कुनै समय विद्यार्थीको अभावमा जेनतेन चलेको यो विद्यालयमा नयाँ भवन, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुन थाले पछि विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक शारदा पौडेलले बताउनुभयो ।

विद्यालयमा शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयले आउँदो शैक्षिक सत्रका लागि विद्यालयले गएको १७ गतेदेखि २८ गतेसम्म नयाँ भर्नाका लागि आह्वान गरेको छ ।

नयाँ भर्नाका लागि पुग्ने निजी विद्यालयका विद्यार्थी धेरै छन् । २०७२ सालमा भूकम्प जानु अघि विद्यालयमा ७१ जना मात्रै विद्यार्थी थिए । अहिले बढेर पाँच सय ९१ पुगेको छ । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा ४९ जनासम्म विद्यार्थी राखेर पढाउने गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

विद्यालयमा पहिले पहिले सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेकामा अहिले श्रमिकका छोराछोरी र सरकारी कर्मचारीका छोराछोरी पनि पढ्छन् । ३० जना शिक्षक छन् ।

आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको विद्यालय हाताभित्र भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय छन् । नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले विद्यालय भवनमा ४० कक्षा कोठा छन् ।

भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि विद्यालय पुनर्निर्माणको शिलान्यास विसं २०७५ साउन १८ गते गरिएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा यो विद्यालय स्थापना भएको थियो ।