काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान समुदाय दिनमा निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु यो महिनाको ठूलो विशेषता मानिन्छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्छ ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले इदुल फित्र पर्वको अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेको स्मरण गर्दै उहाँले विशेष नमाज पढी सकेपछि आफूभन्दा ठूलाबडाबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिँदै मिष्ठान्न एवं स्वादिष्ट परिकार खाने र खुवाउने परम्परा यस पर्वमा रहेको उल्लेख गर्नुभएको छ ।
