ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्याइएको छ।
रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो मंगलबार ढल्किएको रथलाई मर्मत गरेर श्रीबहालबाट तानेर रथलाई गाबहालसम्म पुर्याइएको हो।
अहिले गाबहालमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । रथलाई तानेर एक दिन विश्राम गराउने ठाउँमा स्थानीय बासिन्दाले भुज्या जाने परम्परा छ। भुज्या जाने भनेर परिवारका सबै सदस्य रथ राखिएकाे ठाँउमा गएर मच्छिन्द्रनाथलाई पुजा गर्ने गर्दछन्।
जात्राको क्रममा गाबहाल , सुन्धारा , लगनखेल र जावलाखेलमा अनिवार्य रुपमा विश्राम गराउनु पर्ने परम्परा छ । जावलाखेलमा भोटो देखाउने जात्रासँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ ।
लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामाल् याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंको तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापू तीन जना मिलेर रातो मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको भन्ने जनविश्वास छ ।
